भारतमा धार्मिक सभामा भागदौड हुँदा ११६ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८१, २० असार

काठमाडौं । उत्तरी भारतमा मंगलबार दिउँसो एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिँदा ११६ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहरनजिकै ठूलोभिड जम्मा भएको थियो । जहाँ, मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीले आतंक फैलाएपछि भागदौड मच्चिएका एक सरकारी अधिकारीले बताएका छन् ।

उत्तर प्रदेश राज्यको अलीगढ सहरका डिभिजनल कमिश्नर चैत्र वीले भागदौडका क्रममा एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस सडक किनारको नालीमा खसेर मृत्यु भएको बताए । उनले अहिलेसम्म ११६ जनाको मृत्यु भएको पुष्टि बताए ।

उनले भने, ‘उपस्थित मानिसहरूले कार्यक्रम स्थलबाट बाहिर निस्कँदै गर्दा धुलोको आँधीले केही देख्न सकेनन् र भागदौड सुरु भयो र त्यसपछि दुःखद घटना भयो ।’

राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए । एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्याएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ यस्तै, राष्ट्रपति द्रौपदी मुर्मूले पनि मृत्युलाई ‘हृदयविदारक’ भन्दै समवेदना व्यक्त गरेकी छन् ।

प्रतिक्रिया