काठमाडौं । जारी युरोकप–२०२४ फुटबल प्रतियोगिता अन्तरगत शनिबार बिहान भएको खेलमा नेदरल्यान्ड्सले फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ । बराबरी नतिजासँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
फ्रान्स दुई र नेदरल्यान्ड्स एक पटकको युरोकप च्याम्पियन राष्ट्र हो । फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेपछि पोल्यान्ड उपाधि होडबाट बाहिरिएको छ । बाँकी तीनवटै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहेको छ ।
समूह ‘डी’मा नेदरल्यान्ड्स चार अंक्सहित पहिलो र फ्रान्स समान अंकसहित दोस्रो स्थानमा छन् । अस्ट्रियाको तीन अंक छ भने पोल्यान्डले खाता खोल्न सकेको छैन । चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । शुक्रबार राति खेलिएको खेलमा अस्ट्रियाले पोल्यान्डलाई ३–१ गोलले हराएको थियो ।
नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा पोल्यान्डलाई २–१ गोलले पराजित गरेको थियो । उपाधिको बलियो दाबेदार मानिएको फ्रान्सले आफ्नो पहिलो खेलमा अस्ट्रियालाई १–० गोलले पराजित गरेको थियो ।