
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवगठित जनता समाजवादी (जसपा)लाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका छन् ।
सोमबार जसपाबाट एक मन्त्री र एक राज्यमन्त्री थपिएका हुन् । जसपाबाट प्रदीप यादव मन्त्री र हसिना खान राज्यमन्त्री बनेका छन् । सरकारमा सहभागी मन्त्रीहरुले आजै शपथ लिएका छन् ।
जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । खानले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।
जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो । जसपा नेपालबाट वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाबाट एकजना मन्त्री पहिले नै सरकारमा छन् ।
