‘प्रचण्डको भाइ भनेको सुन्दा सुन्दा मेरो कान पाकिसक्यो’
अखबार टुडे
प्रकाशित:
२०८०, २८ फाल्गुन

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाइ भनेकामा असन्तुष्टि जनाएका छन् । उनले ‘प्रचण्डको भाइ भनेको सुन्दा सुन्दा आफ्नो कान पाकिसकेको पनि बताए ।

सोमबार राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘यो कुरा सुन्दा सुन्दा मेरो कान पाकिसके, भन्दा भन्दा मुख थाकिसके । यो अहिले होइन, २०६३ सालमा जुन बेला म अन्तरिम व्यवस्थापिकामा प्रवेश गरेँ त्यो बेलादेखि यस्तो कुरा गर्नेहरु छन् ।’

पार्टीमा आफ्नो योगदान अनुसार जिम्मेवारी पाएको समेत दाबी गर्दै विगतदेखि नै प्रचण्डको भाइ भन्दै आलोचना गर्ने गरिएको गुनासो गर्दै उनले भने, ‘एउटा पार्टीको सहइन्चार्जमा जाँदा पनि त्यो खाल (प्रचण्डको भाइ भएर अवसर पाएको) को आरोप लाग्ने गरेको छ ।’

उनले अहिले दाजुभाइ भनेर आलोचना गर्नेहरुले युद्धका बेला किन दाजुभाइ नै हिँडेको भनेर नसोधेको भन्दै प्रश्न गरे । ‘अहिले दाजुभाइको नाता पर्ने हिसाबले हुन्न भन्ने हो भने युद्धमा हिँड्दा दाइ हिँडेको छ तँ नहिँड, पाउँदैनस्, हुन्न भन्न किन नआएको ?’ उनले भने ।

प्रतिक्रिया