काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट नभएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले नयाँ गठबन्धन सरकारलाई शुभकामना दिँदै वाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु सकारात्मक भएको समेत बताएका छन् ।
नेता खनालले भनेका छन्, ‘हाम्रो देशमा एक वर्षअघि बनेको गठबन्धनको सरकार टुटेको छ र वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा यही २१ फागुनमा नयाँ बाम–लोकतान्त्रिक गठबन्धनको सरकारले आकार लिएको छ । यो नेपालको समकालीन राजनीतिक परिस्थितिमा आएको एउटा महत्त्वपूर्ण सकारात्मक परिवर्तन हो । यो नयाँ सरकारलाई सर्वप्रथम हाम्रो पार्टीको तर्फबाट म हार्दिक स्वागत र समर्थन गर्दछु ।’
उनले विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न नसकेको पनि बताएका छन् ।
‘आजको त्रिशंखु संसदमा कुनैपनि पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अनिवार्य नै थियो र छ । तर, विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न सकेन । देशको राजनीति, अर्थतन्त्र, सामाजिक तथा सांस्कृतिक स्थिति र राष्ट्रियता सबै क्षेत्र झनझन सङ्कटग्रस्त बन्दै गइरहेको थियो । बेरोजगारी र भ्रष्टाचार झन् व्यापक बन्दै गएको थियो र देशका युवाहरू बाहिर जाने क्रम झनझन तीव्र बनिरहेको थियो । त्यसले गर्दा वामपन्थी एकताको माग दिन प्रतिदिन बढिरहेको थियो’ उनले भनेका छन् ।
नेता खनालले जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिबिम्बित गर्दै बाम लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेकोले यो सरकारमा आफ्नो पार्टी पनि सहभागी बनेको स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘नयाँ सरकार बन्दा आमजनतामा नयाँ आशाको सञ्चार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएको छ ।’ उनले यतिबेला विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको बताउँदै भूराजनीतिक शक्तिहरू बीचको प्रतिस्पर्धा तीव्र बनिरहेको बताएका छन् ।