
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धन चारै वर्ष टिक्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै यस्तो दावी गरेका हुन् ।
अध्यक्ष ओलीले भने, ‘जटिल परिस्थिति भएकाले पार्टीमा सल्लाह गर्न सकिएन । तर, हामीले पाएको सफलता ठूलो हो ।’ नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन तोड्न राम्रै मेहनत गर्नुपरेको बताउँदै उनले त्यसमा अन्ततः सफलता पाएको बताएका हुन् ।
नेकपा माओवादी केन्द्रलाई कांग्रेससँगै राख्न अनेक शक्ति केन्द्र लागेको बताउँदै उनले भने, ‘हामीसँग माओवादीको गठबन्धन नहोस् भनेर विभिन्न शक्ति केन्द्र लागेका थियो, अहिले सक्रिय छन् ।’
ती शक्ति केन्द्रहरु आफैँ परास्त गर्नेगरी नयाँ गठबन्धन बनेको पनि उनले बताए । ‘अब जो जतिसुकै लागे पनि हामी चार वर्ष यो गठबन्धनलाई टिकाउँछौ, त्यसमा अरु दलहरु पनि प्रतिबद्ध छ ।’
माओवादी केन्द्रसहितका दलहरुसँग साझेदारी गर्दै सत्ताको यात्रा अगाडि बढाउने निर्णय गर्नेगरी आजको बैठक बसेको थियो । ‘हामी सरकारमा सहभागी भइसकेका छौं । तर त्यसबारे निर्णय गर्न बाँकी थियो’ अध्यक्षको भनाइ उदृत गर्दै एक पदाधिकारीले भने, ‘अध्यक्षले सरकारमा सहभागी हुनु अगाडि माओवादीसँग कुराकानी गर्ने कुरा समेत गोप्य राख्नुपर्ने कारण परिस्थिति नै भएको बताउनुभयो ।’
सचिवालय बैठकले आगामी ८–९ वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक राख्ने र १० वैशाखमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ । एमालेभित्र प्रतिनिधि परिषद् बैठक महाधिवेशन पछि शक्तिशाली संरचना हो ।
