
कैलाली । सुदूरपश्चिम प्रदेश सरकार धरापमा परेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेका हुन् ।
कांग्रेस नेतृत्वको सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई अहिलेसम्म आफ्नो पार्टीका १८ जना र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ७ जना प्रदेशसभा सदस्यको समर्थन यथावत रहेको छ ।
सुदूरपश्चिम प्रदेशसभामा माओवादीका सभामुखसहित ११ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन् । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारमा बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १८ र नाउपाका ७ सांसदको साथले मात्र मुख्यमन्त्री शाहलाई बहुमत पुग्दैन ।
सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र एक र राप्रपाका १ जना सांसद छन् । यदि, उनीहरूको साथ पाएभने मुख्यमन्त्री सुरक्षित हुन सक्छन् । तर, नाउपाले अहिलेसम्म नयाँ गठबन्धनमा जाने वा पुरानैमा रहने भन्ने कुनै टुंगो लगाएको छैन ।
माओवादी नेतृत्वको सरकार एमाले सहभागी भएसँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार धरापमा परेको हो । मुख्यमन्त्री शाह अहिले नाउपा, राप्रपा र स्वतन्त्र सांसदलाई मिलाउने प्रयासमा लागेका छन् । यदि नाउपा, राप्रपा र स्वतन्त्रलाई मिलाउन सके सरकार ढल्दैन । तर, नाउपाले कांग्रेससँग सहकार्य नगर्ने निर्णय गरेमासबै बाटो बन्द हुनेछन् । त्यो अवस्थामा मुख्यमन्त्री शाहले राजीनामा दिनेबाहेकका विकल्प रहने छैन ।
