
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको भन्दै यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए । प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको उनले जिकिर गरे ।
‘मान्छे मरेका छन्, युवाहरु मरेका छन् । युवा मारिएका विषयमा प्रतिवेदनले भन्छ मन्त्री दोषी छ, पहिलोपटक दुनियाँको इतिहासमा यस्तो सुनिँदैछ, सायद यस्तो हुँदैन’ उनले भने, ‘लोकतन्त्र मान्ने प्रणालीमा यस्तो हुँदैन । मन्त्री दोषी छ जसले गर्दा युवा मारिए । आफैँले सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ । मन्त्री फुर्तिसाथ हिँड्छ । आत्मग्लानी छँदै छैन । न सरकारलाई, न त मन्त्रीलाई ।’

उनले यस्तो अवस्थाम पनि प्रधानमन्त्रीलाई कुनै अफ्ठ्यारो नभएको बताउँदै भने, ‘मन्त्रीले राजीनामा नगरे हटाउनु पर्दैन । मन्त्री निर्लज्ज भयो भने निर्लज्ज हुने, गठबन्धन नै निर्लज्ज हुने । एउटा व्यक्तिको स्वार्थमा, एउटा सानो दलको स्वार्थमा सिंगो देश अलोकतान्त्रिकमा जाने । नैतिकता भन्नेकुरा सिंगै देशले छोड्ने ?’ एउटा व्यक्तिको स्वार्थमा सिंगो देश नै अलोकतान्त्रिक भएको उनको भनाइ छ ।
बैठकले विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ । केन्द्रीय कमिटीको बैठकले गठबन्धन सरकार र गतल प्रवृत्तिका पात्रको राष्ट्रिय हितमा आघात पु¥याएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
