अध्यक्ष ओली भन्छन्- मैले संसदमा निष्ठाका साथ बोलेको छु
अखबार टुडे
प्रकाशित:
२०८०, १६ माघ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निराशा र आक्रोश अरूतिरमात्रै थोपरेर देश विकास नहुने बताएका छन् । मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित आफूले संसदमा बोलेका भाषणहरूको संग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सकारात्मकताका लागि राष्ट्रिय आत्मविश्वासको खाँचो रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘प्रतिबद्धता मात्रै हुँदा हाम्रो देश जसरी पनि बन्ने देश हो । हामी बनाउन सक्छौं । आज पनि राष्ट्रिय आत्मविश्वासकाको खाँचो छ, त्यो कहाँबाट प्राप्त हुन्छ भने व्यक्ति, व्यक्तिमा आत्मविश्वास जगाउन जरूरी हुन्छ । निराशा, आक्रोश, उत्तेजना, दोष अरूतिर मात्रै थोपरेर पुग्दैन । हामी सकारात्मक कुरा के गर्छौं त ?’

अध्यक्ष ओलीले नेपाली युवा विदेश गएर अरू देश बनाउन सक्ने, आफ्नो मुलुक बनाउन नसक्ने भन्ने नहुने भन्दै टिप्पणी गरे ।
‘हाम्रोजस्तो ४० वर्षभन्दा मुनिका युवा जनसंख्या भएको देश, ६० प्रतिशतभन्दा जनसंख्या सक्रिय जनसंख्या भएको देश, यस्तो उर्वर देश, अलिक वर्ष यस्तै असफल भयौं भनेर त ज्येष्ठ नागरिकको संख्या भएको, काम गरेर खानेभन्दा आश्रितहरूको देश हुन्छ’ अध्यक्ष ओलीले भने, ‘उत्पादन गर्नेभन्दा उत्पादनको खपत गर्ने बढी भएको देश हुन्छ । त्यो हुनुभन्दा अगाडि विकास गरिएन भने राष्ट्र असफल हुने खतरा हुन्छ ।’

उनले राष्ट्रिय उत्पादन बढाउन सुशासनको खाँचो रहेको पनि औंल्याए । ओलीले भने, ‘त्यसका लागि भ्रष्टाचार न्यूनता र शून्यतामा नलाने हो भने देश कसरी विकास हुन्छ ?’

कार्यक्रममा ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तकको विमोचन गरिएको थियो । सोक्रममा अध्यक्ष ओलीले आफ्नो अभिव्यक्तिमा ‘अन्कन्ट्रोल मिसाइल’ प्रहार भएपनि ठिक ठाउँमा ताकेर हान्ने गरेको बताए । उनले संसद् वा बाहिर कुनैपनि ठाउँमा आफूले दिएको अभिव्यक्ति देश र जनताप्रतिका समर्पणभावमा केन्द्रित रहेको पनि बताए ।

उनले लोकतन्त्रलाई नेताहरुले भागी खाने भाँडा बनाउँदा त्यसको टिकाउ नहुने गरेको स्पष्ट पारे । लोकतन्त्रको विकल्प लोकतन्त्रै हुने भएकाले राजनीतिकलाई आफूले सोहीअनुसार अघि बढाउने काम गरिरहेको दावी गरे ।

‘मैले संसदमा बोल्दा, अन्यत्र बोल्दा देशप्रतिको, जनताप्रतिको, त्यही निष्ठाका साथ बोलेको छु । तर मैले अघि नै भने अलि सावधानी साथ बोल्नुपर्ने रहेछ, होशियारीका साथ बोल्नुपर्ने रहेछ’ उनले भने, ‘मिसाईल भन्ने ठिक ठाउँमा ताकेर हानेको छु । तर एउटा हान्दा पुग्ने ठाउँमा कहिलेकहीँ ५/७ वटा हानेको छु । त्यसैलाई अन्कन्ट्रोल भन्नुभएको होला । मैले राजनीतिक सुरुदेखि नै अत्यन्तै निष्ठाका साथ गरेको छु ।’

आफ्ना अभिव्यक्तिमा केही सावधानीको आवश्यकता भएको पनि आफूले पछिल्लो समय सही महसुस गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया