
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वब्रिटिस गोर्खाको समस्या समाधान गर्न गोर्खा ब्रिगेडलाई ध्यानाकर्षण गराएका छन् । आइतबार संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओवीईसहितको टोलीसँग भेटमा मुख्यमन्त्री कार्कीले ध्यानाकर्षण गराएका हुन् ।
गोर्खा ब्रिगेडको टोलीले पहिलोपटक सातवटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भेट गरेको हो । भेटमा मुख्यमन्त्री कार्कीले पूर्वब्रिटिस गोर्खा सेनाको समस्या समाधानका लागि गोर्खा ब्रिगेडको टोलीलाई ध्यानाकर्षण गराए ।
वर्षेनी नेपालबाट कतिजना गोर्खा सेनामा भर्ति भइरहेको छ भन्ने मुख्यमन्त्रीको जिज्ञासामा कर्णेल कमाण्डेन्ट रिचार्डले यस वर्ष ३३६ जना भर्ना भएर गएरहेको बताए ।
गोर्खा वेलफेयर ट्रष्टले नेपालमा गरिरहेको कामको बारेमा मुख्यमन्त्री कार्कीले राखेको जिज्ञासामा रिचार्डले सुरुमा धरानमा पूर्वगोर्खा सेनाका लागिमात्रै गर्दै आएको कामलाई विस्तार गरी आम नेपालीका लागि सुरु गरेको जानकारी गराएका थिए ।
मुख्यमन्त्री कार्कीले गोर्खा सेनाहरुको थलो धरान र इटहरीको खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले तमोर नदीबाट २ दशमलव ५ किलोमिटर सुरुङमार्गबाट पानी ल्याउन चालु आर्थिक वर्षमा डीपीआरका लागि २ करोड बजेट विनियोजन गरेको बताए ।
सुरुङ मार्गबाट ल्याइने तमोरको पानीसँगै २५ मेघाावाट विद्युत उत्पादनका साथै सिँचाइको समेत योजनामा सहकार्यका लागि उनले गोर्खा ब्रिगेड टोलीलाई आग्रह गरे ।
‘पूर्व गोर्खालगायतका गोर्खा सेनाका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा गोर्खा भिलेज निर्माणका लागि अध्ययन गरिरहेको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘गोर्खा भिलेजको घर ब्रिटिस मोडलमा निर्माणा गर्ने भएकाले प्राविधिक लगायतको सहयोग गर्न आग्रह छ ।’
यस्तै, रिचार्डले संघीयता कार्यान्वयन र हिन्दुत्वको बढ्दो प्रभाव र धार्मिक सहिष्णुताको बारेमा जिज्ञासा राखेका थिए । ‘गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएकोले यसलाई निरन्तर अघि बढाइरहन पनि गोर्खाको भूमिका अहम् छ,’ उनले भने, ‘गोरखाली सेनाको व्यावसायिकता, समर्पण, क्षमता र अदम्य शाहसले बेलायतको समग्र सुरक्षामा अहम योगदान पु¥याएको छ ।’
