
‘काठमाडौं । ‘तपस्वी’ भनेर चिनिएका रामबहादुर बम्जन अहिले पुर्पक्षका लागि कारागार कार्यालय महोत्तरीमा छन् । जिल्ला कारागार सर्लाहीको भवन बनिरहेको हुनाले उनलाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखिएको हो । जेलमा बम्जनको छुट्टै भान्सा छ ।
थुनामा बस्नुपर्ने भएपछि बम्जनले जेल भित्रको ‘आन्तरिक प्रशासन’लाई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । उनकै आग्रह अनुसार छुट्टै भान्सा सञ्चालन गर्न अनुमति दिइएको जलेश्वर कारागारका खरिदार रविन चन्द्र ठाकुरले बताएका छन् । कारागारका सूचना अधिकारी ठाकुरका अनुसार एकजना नाइकेले उनलाई भान्सामा सहयोग गर्दै आएका छन् ।
नाइके नरवीर लामाले बम्जनलाई खान बनाएर खुवाउँछन् । बम्जनको भान्सामा लसुन र प्याज लैजान पाइँदैन । खरिदार ठाकुर भन्छन्, ‘उहाँ लसुन र प्याज हालेको तरकारी खानुहुन्न ।’ लसुन र प्याजबाहेक उनी अन्य कैदीले जस्तै दाल र भात खान्छन् । कारागार प्रशासनको अनुमतिमा नाइके नरवीर बम्जनको सहयोगी खटिएका हुन् ।
