सुन तस्करी जाँचबुझ आयोगको म्याद थपियो
अखबार टुडे
प्रकाशित:
२०८०, २३ पुष

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थपिने भएको छ । मन्त्रिपरिषद्को बेठले सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको म्याद दुई महिना थप्ने निर्णय गरेको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताएका छन् ।

गत असोज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो । तीन महिना समय पाएको आयोगले जाँचबुझ नसकिएको भन्दै म्याद थपको प्रस्ताव पठाएको थियो । आयोगको प्रस्तावअनुसार म्याद थप भएको अध्यक्ष आचार्यको भनाइ छ ।

आयोगले ६० किलो सुन तस्करी र विद्युतीय चुरोट ‘भेप’मार्फत गरिएको सुन तस्करीबारे जाँचबुझ गरिरहेको छ । म्याद थप भएसँगै आयोगले अर्को चरणको काम सुरु गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बुझेको तर, मुद्दा नचलाएका दुई जनासँग आयोगले बयान लिएको छ ।

भन्सार विभागमा कार्यरत उपसचिव मुक्ति श्रेष्ठ र विमानस्थल भन्सार कार्यालयमा कार्यरत अर्का उपसचिव श्रीधर टण्डनसँग आयोगका अधिकारीहरूले बयान लिएका हुन् । ब्रेक प्याडमा लुकाएर ल्याएको ६० किलो सुन विमानस्थलबाट पार हुँदा टण्डन मूल्याङ्कन शाखाका इन्चार्ज थिए ।

भन्सार एजेन्ट काठमाडौँ–३२ बस्ने ५५ वर्षीय कृष्ण कुमार श्रेष्ठसँग पनि आयोगले बयान लिँदैछ । उनी ट्रान्स ग्लोबस सर्भिस प्रालिका संचाकल हुन् । ट्रान्स ग्लोबलमार्फत रेडी ट्रेड प्रालिले हङकङबाट ब्रेक प्याडमा सुन मगाएको अनुसन्धानबाट थाहा भएको छ । श्रेष्ठ अहिले थुनामा छन् ।

प्रतिक्रिया