यस्तो छ भारतीय विदेशमन्त्री जयशंकरको दौडधुप
अखबार टुडे
प्रकाशित:
२०८०, १९ पुष

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस।जयशंकर बिहान १० बजे काठमाडौं आइपुग्दैछन् । साथै, विदेशमन्त्री एस. जयशंकरले आजैदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।

भारतीय वायु सेवाको विशेष विमानमार्फत् आज बिहान (बिहीबार) १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई भेट्ने कार्यक्रम छ ।

काठमाडौंस्थित भारतीय दूतावासका जयशंकर आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुग्नेछन् ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि उनले आजै भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्डसँग मध्याह्न १२ बजे बालुवाटारस्थित निवासमा भेट्ने कार्यक्रम तय भएको बताइएको छ ।

दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने विदेशमन्त्री जयशंकरले आज दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको समय निर्धारण गरिएको छ ।

यस्तै, बेलुका परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् भने भोलि शुक्रबार बिहान ८ बजे उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न जानेछन् । भोलि नै १२ बजेपछि उनी नयाँदिल्ली फर्किनेछन् ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने छन् ।

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरु छन् ।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा दुई देश बीचको व्यापार असन्तुलन कम गर्ने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, ऊर्जा व्यापार लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया