एमालेको संकल्प- सामन्ती व्यवस्था पुनर्स्थापना गर्ने प्रयासलाई सफल हुन दिनेछैनौं
अखबार टुडे
प्रकाशित:
२०८०, ८ पुष

काठमाडौं । नेकपा एमालेले संकल्प यात्रा सफल भएको जनाएको छ । एमालेले १४ मंसिरदेखि १८ दिनसम्म चलेको झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा सफल भएको निष्कर्ष निकालेको हो ।

आइतबार केन्द्रीय मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर एमालेले संकल्प यात्रा राष्ट्रिय अभियान नै बन्न पुगेको निष्कर्ष प्रस्तुत गरेको छ । ‘यो अभियान नेकपा एमालेको आयोजनामा सञ्चालन भएपनि यथार्थमा राष्ट्रिय अभियान जस्तो बन्न पुग्यो’, एमालेले मध्यपहाडी संकल्प यात्राको समीक्षात्मक प्रतिवेदनमा भनेको छ ।

एमालेले उक्त प्रतिवेदनमा यात्राबाट निकालेको निष्कर्षलाई बुँदागत रुपमा प्रस्तुत गरेको छ । पहिलो निष्कर्षमा एमालेले मध्यपहाडी क्षेत्रका जनता वर्तमान व्यवस्थाकै पक्षमा रहेको दाबी गरेको छ । ‘नेपाली जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा छन् । ‘हामी स्पष्ट छौं– लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतान्त्रिक गणतन्त्र मात्रै हुन सक्छ’, प्रतिवेदनमा उल्लेख छ ।

जनताको गुनासो र सुझावहरु भएपनि राजतन्त्रको पक्षमा नरहेको निष्कर्ष एमालेले निकालेको छ । ‘परिवर्तनलाई उल्ट्याउन, नेपाललाई मध्ययुगतिर फर्काउन र जनताको अभिमत बिनाको जन्मसिद्ध श्रेष्ठताको सामन्ती व्यवस्था पुनर्स्थापना गर्ने प्रयासलाई कुनै पनि हालतमा सफल हुन दिनेछैनौं’, एमालेको संकल्प छ ।

पूर्वराजावादी, पश्चगामी र अतिवादीहरुले राजनीतिक दलहरुको लोकप्रियता खस्किरहेको चर्चा गरेपनि अभियानबाट त्यसलाई खण्डित गरेको एमालेको दाबी छ । ‘नेकपा एमालेको संकल्प यात्राले लोकतान्त्रिक गणतन्त्रप्रतिको जनसमर्थनलाई थप सुदृढ र मजबुत बनाएको छ’ प्रतिवेदनमा भनिएको छ ।

एमाले अध्यक्ष ओलीले संघीयताबारे पनि धेरै नकारात्मक टिप्पणी गर्नु उपयुक्त नहुने बताए । पहिलो कार्यकालको धेरै समय त कानुन र संरचना निर्माणमै कितेको भन्दै उनले भने, ‘५/६ वर्ष पनि कार्यान्वयन हुन नपाउँदै धेरै पक्ष विपक्षमा तर्क गर्ने भन्दा विना आग्रह संघीयतालाई सफल बनाउने कोसिस गरौं ।’

यस्तै, दोस्रो निष्कर्षमा भने एमालेले आफ्नो संकल्प प्रस्तुत गरेको छ । यात्राभर विभिन्न साँस्कृतिक र सामाजिक समूहबाट स्वागत पाएको अनुभूति सहित एमालेले अराजकता, हुलहुज्जत र हिंसाविरुद्ध उभिने संकल्प गरेको छ । ‘सामाजिक विद्वेष, अतिवाद र हिंसा र अराजकताका कुनै पनि प्रयासलाई सफल हुन दिनेछैनौं’, एमालेले संकल्प गरेको छ ।

संकल्प यात्राले जातीय तथा साम्रदायिक अतिवाद, अराजकता र हिंसालाई परास्त गरेको निष्कर्ष एमालेको छ । ‘हाम्रो संकल्प यात्रा लक्षित बन्द र हड्तालका घोषणा, सडक अवरोध र हिंसाका प्रयासहरु विफल भएका छन्’, एमालेको प्रतिवेदनमा लेखिएको छ, ‘लाखौंको संख्यामा सडकमा उत्रिएर नेपाली जनताले आफूहरुबीचको सामाजिक सद्भाव कसैले चुँडाउन नसक्ने सन्देश दिएका छन् ।’

यात्राको तेस्रो सफलतामा एमालेले सुशासन, समृद्धि र विकास नै मुलुकको सर्वोपरी प्राथमिकता हुनुपर्ने निष्कर्ष राखेको छ । तर वर्तमान सरकार भ्रष्ट र दोहनकारी भएकाले जनतामा निराशा देखिएको एमालेले उल्लेख गरेको छ । ‘कतिपय लोकतन्त्र विरोधी तत्वहरु यस्ता निराशालाई लोकतन्त्रकै विरुद्ध प्रयोग गर्न प्रयत्नशील देखिएका छन्’, एमालेको निष्कर्ष छ ।

यस्तै, चौथो निष्कर्षमा एमालेले आफ्नो पार्टी र जनताबीचको सम्बन्ध प्रस्तुत गरेको छ । जनताका चासो, सरोकार र मागहरुको सम्बोधन एमालेबाट मात्रै सम्बोधन हुन सक्छ भन्ने विश्वास अभियानका क्रममा देखिएको एमालेले दावी गरेको छ ।

‘यतिबेला नेकपा एमाले सरकारमा नभए पनि नेकपा एमालेबाट मात्रै हाम्रो चासो, सरोकार र मागहरु सम्बोधन हुन सक्छ भन्ने विश्वास व्यक्त गर्ने’ एमालेले जनाएको छ । जनताले राखेका मागहरु वर्तमान सरकारले पूरा नगरे आफ्नो सरकार बनेपछि सम्बोधन गर्ने प्रतिबद्धता एमालेले गरेको छ । यात्रापछि पार्टीको संगठनात्मक शक्ति बढेको समेत एमालेको निष्कर्ष छ ।

‘यस अभियानका क्रममा प्राप्त जनसमर्थनबाट हामी उत्साहित छौं । यस समर्थनलाई हामी संगठनात्मक शक्ति र एकताबद्ध पार्टी निर्माणमा रुपान्तरित गर्नेछौं’, प्रतिवेदनमा लेखिएको छ ।

अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरु सहभागी भएर गरिएको पत्रकार सम्मेलनबाट एमालेले मध्यपहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता पनि गरेको छ । ‘विज्ञहरु, जनप्रतिनिधिहरु र अन्य आवश्यक पक्षसँग सघन छलफल गर्नेछौं । हाम्रो संकल्प छ– हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउनेछौं’, ओलीले भनेका छन् ।

प्रतिक्रिया