निमोनिया रोकथामका लागि तयारी रहन अस्पतालहरुलाई सरकारको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०८०, ५ पुष

काठमाडौं । चीनका बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरूलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताएका हुन् ।

उनका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ । कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उनले जानकारी दिए ।

बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्समा चेकजाँच कडाइ गरिएको बताए । ‘चीनमा यसको संक्रमण देखिएको पनि धेरै समय भयो। यदि नेपालमा प्रवेश गर्ने थियो भने पहिल्यै नै आइसक्ने थियो’ उनले भने, ‘अहिले हामीले अस्पताललाई तयारी अवस्था राखेका छौँ भने सबैलाई सचेत रहन आग्रह गरेका छौँ ।’

मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले नेपालमा यसअघि देखिएका भन्दा फरक र लामो समयसम्म निमोनियाका लक्षण देखिएका बिरामीको नमुना संकलन गर्न सम्बद्ध सबैलाई निर्देशन दिइएको बताए ।

इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उक्त निमोनियाको रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको उनले जानकारी दिए ।

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त ओझाले सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताए । उनले चीनमा देखिएको निमोनिया कुनै नौलो किसिमको संक्रमण नभएको र श्वासप्रश्वाससम्बन्धी रोग रहेको उल्लेख गर्दै सबै निकायलाई सचेत बनाइएको जानकारी दिए ।

‘चीनमा एक्कासि धेरै बालबालिका निमोनिया देखिएको छ। कोरोना र मङ्किफक्सले गर्दा हामी झस्किएका छौँ । त्यसैले बेलैमा निमोनियाको रोकथाम र उपचारका लागि तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन दिएका छौँ,’ ओझाले भने । उक्त निमोनियाको परीक्षण गर्ने व्यवस्था नेपालमा रहेको भन्दै जोखिमको तह बढ्दै गए सोही अनुसार उपचार र रोकथाम गरिने उनले बताए ।

कान्ति बाल अस्पतालका निर्देशक डा.पंकज रायले निमोनियाको उपचारका लागि अस्पताल तयारी अवस्थामा रहेको बताए । ‘हाम्रीले अस्पतालमा चिकित्सकको समूहलाई निमोनियाको उपचारका लागि तयारी अवस्थामा राखेका छौँ,’ उनले भने ।
रायका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (आरएसभी) गर्दा भएको निमोनियाले बच्चामा लामो समयसम्म रुघाखोकी लाग्ने, जीउ दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या आउने, ज्वरो आउने, छाति बज्ने, सिँगान बग्नेलगायत जस्ता लक्षण देखिने गर्दछन् ।

प्रतिक्रिया