काठमाडौं । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको भइरहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का हिमपात भइरहेको महाशाखाले बताएको छ ।
आज सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
यस्तै आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।