
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै नेपाली जनताले वाक्कदिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरेका हुन् ।
पार्टी मुख्यालय च्यासलमा शुक्रबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय देशले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भएपनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने धारणा राखे ।
अध्यक्ष ओलीले भने, ‘कि त चेतना नै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा, जन्मिदै राष्ट्रप्रमुख हुन जन्मिन्छ । लाटो जन्मिन्छ कि गजडी जन्मिन्छ कि । ड्रगिष्ट भएर जन्मिन्छ कि । कस्तो भएर जन्मिन्छ ? लफंगा भएर जन्मिन्छ कि ? थाहा छैन ।’
जन्मिदै राजा हुने ? प्रश्न गर्दै उनले भने, ‘त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी ! नागरिक सर्वोच्चता स्वीकार नगर्ने । देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने । एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने । त्यो चेतना, चेतना हो र । त्यो त मूर्खता हो नि !’
बिहीबार दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा भएको प्रदर्शनप्रति संकेत गर्दै उनले एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको टिप्प्णी गरे ।
अध्यक्ष ओलीले बल्खुमा बिहीबार भएको प्रदर्शनमा ५÷७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको दावी गरे । उनले भने, ‘कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो ? केही पनि थाहा छैन । हिजोको प्रदर्शनबाट पनि थर्कमान भएको छ ।’ उनले जनतालाई निराश हुन नदिने काम एमालेले गर्नुपर्ने भएकाले त्यस काममा लाग्न युवा संघ नेपाललाई सचेत गराए ।
