
काठमाडौं । नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको हो । निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् ।
तिनकुने क्षेत्रमा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित भएका छन् । मध्यपुरथिमिस्थित दुर्गा प्रसाईंको निवास वरपर पनि सुरक्षाकर्मीहरु तैनाथ छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यको नेतृत्वमा काठमाडौं उपत्यका संयुक्त कमान्ड सेन्टर स्थापना गरी सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १० हजार हाराहारीमा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। तीनकुने र बल्खुमा हुने कार्यक्रममा ड्रोनबाट पनि निगरानी गगरिँदैछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली फिल्डमा खटिएका छन्। यस्तै नेपाली सेनालाई भने ब्याकअपको रूपमा राखिएको छ।
प्रहरीका अनुसार तीनकुनेमा बिहीबार बिहानदेखि युवा संघका केही कार्यकर्ता भेला भइसकेका छन्। प्रसाईंको कार्यक्रमका लागि विभिन्न ठाउँबाट र्याली गरी मानिसहरू बल्खु पुगेका छन् ।
