माओवादी र नेसपाबीच पार्टी एकता गर्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०८०, ३ मंसिर

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकता गर्नेबारे वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने निर्णय भएको छ । आइतबार बसेको बैठकमा यस्तो सहमति भएको हो ।

बैठकमा पार्टी एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भएको माओवादीका उपाध्यक्ष तथा उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपा नेता गंगानारायण श्रेष्ठद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाएको छ । बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने काम भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने निर्णय जनाइएको छ ।

यस्तै पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरूप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

दुई पार्टीबीच एकता गर्ने सहमति भएपनि लामो समयदेखि रोकिएर बसेको थियो । पछिल्लो समय नेकपा अध्यक्ष डा. बाबुराम भट्टराई माओवादीसँग पार्टी एकताको पक्षमा नदेखिएपछि नेताहरुबीच दुई धार हुँदा दबाबमा परेका छन् ।

प्रतिक्रिया