भूकम्पले ध्वस्त जाजरकोटको खलंगा (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०८०, १८ कार्तिक

काठमाडौं । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटको खलंगा क्षतविक्षत भएको छ । क्षतविक्षत भएको दृष्य खलंगास्थित थाप्लेको हो । जिल्ला समन्वय समिति प्रमुख कालीबहादुर खत्रीका अनुसार त्यहाँ रहेका सबैजसो घर भत्किएका छन् ।

अहिलेसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र कुसे गाउँपालिका गरेर ९५ जनाको मृत्यु भएको छ भने घाइते कति छन् र कति घरभित्र च्यापिएका छन् भन्ने अझै यकिन हुन सकेको छैन ।

भूकम्पको केन्द्रविन्दु भएको बारेकोट गाउँपालिकामा कुनै पनि घर सग्लो नरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिएका छन् । बारेकोटबाट मानवीय क्षतिको विवरण भने आएको छैन । हालसम्म जाजरकोटमा ९५ र रुकुमपश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच शुक्रबार मध्यरातीदेखि अहिलेसम्म १०९ धक्का मापन भएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले शनिबार बिहानसम्म त्यस क्षेत्रमा १०९ वटा भूकम्पका धक्का गएका छन् ।

११ः४७, १२ः०८, १२ः२९, १२ः३५ गरी चार पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३ रेक्टर स्केलका भूकम्प गएका उनको भनाइ छ । अन्य भूकम्पका धक्का भने ४ रेक्टरस्केल मूनिका छन् ।

नोट : यो शनिबार बिहान ११ बजेसम्मको रिपोर्ट हो । उद्दार जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्छ ।

प्रतिक्रिया