
जाजरकोट । गएराति गएको भूकम्पमा परी जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ ।
ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै, अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए ।
घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।
त्यस्तै, छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । त्यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।
तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको जिल्लाका सुरक्षा प्रमुखहरुले बताएका छन् ।
भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबीसकोट जाने सडक दुई स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उद्धारमा केही ढिलाइ भएको रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले बताए । उनका अनुसार घाइतेहरूको उद्धार कार्य चलिरहेको छ भने सडक खुलाउने प्रयास भइरहेको छ ।
