
काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारी केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको छ । रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तको उडान स्थगित गरेर भएपनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । रुकुमपश्चिमको चौरजहारी र खलंगामा एयरपोर्टहरु छन् ।
यस्तै, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले रुकुमलाई केन्द्रित गरी नेपालगञ्ज, सुर्खेत लगायतका स्थानमा पनि अन्य एयरलाइन्सलाई स्ट्याण्डबाई रहन निर्देशन दिइएको जानकारी दिए । यसैबीच प्रधानमन्त्री प्रचण्ड आज बिहानै नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरमार्फत् जाजरकोट पुगेका छन् ।

हालसम्म १२८ को मृत्यु
जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका प्रहरीले जनाएको छ । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।
भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदैछ । अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
