संक्रमणकालीन न्यायले पीडित परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ : महासचिव गुटेरेस
अखबार टुडे
प्रकाशित:
२०८०, १२ कार्तिक

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरु पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुग्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

उनले भने, ‘संक्रमणकालीन न्यायले पीडित परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ,’ उनले भने, संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ ।’

पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौं आएको बताए । ‘नेपाल शान्ति र बहुपक्षीयताका पक्षमा गौरवशाली रुपमा लामो समयदेखि वकालत गरिरहेको देश हो,’ उनले भने, ‘बहुपक्षीय समाधानका लागि नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ । शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको उपस्थिति त्यसैको नतिजा हो ।’

महासचिव गुटेरेसले विगत २० वर्षमा नेपालको प्रगति अचम्मको रहेको बताउँदै भने, ‘शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेको छ । नेपाल आगामी केही वर्षमै अल्पविकसित देशबाट माथि उठ्न तयार भइरहेको छ ।’

नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा फसेको बताउँदै उनले त्यसलाई हल गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताए । उनले भने, ‘विकसित देशहरूले नेपाल जस्तो राष्ट्रलाई कोभिड–१९ महामारी, मुद्रास्फीति र जलवायु परिवर्तनले निम्त्याएको ठूलो खतरासँग जुध्न मद्दत गर्नुपर्छ । यस यात्रामा म जलवायु संकटको भयावह प्रभाव आफैं हेर्न हिमालयको भ्रमण गर्नेछु ।’

प्रतिक्रिया