किन नेपाल आउँदैछन् महासचिव गुटेरेस ?
अखबार टुडे
प्रकाशित:
२०८०, १० कार्तिक

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणमा यही कात्तिक १२ गते नेपाल आउँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणा स्वीकार गरी यसअघि राष्ट्रसङ्घीय सचिवालयले असोजमा भ्रमण हुनेगरी कार्यतालिका सार्वजनिक गरेको थियो । तर, प्यालेस्टाइनका हमास समूहद्वारा इजरायलमा गरिएको आक्रमणपछि महासचिव गुटेरेसको भ्रमण स्थगित गरी कात्तिक १२ गतेदेखि हुन लागेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने उनले बताए ।

यसैगरी जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दाले समेत प्राथमिकता पाउने बताइएको छ ।
यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसले नेपालको भ्रमण गरेका थिए । महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहेका गुटेरेस अहिले दोस्रो कार्यकालका लागि कार्यरत छन् ।

सन १९७० र ८० को दशकमा तत्कालीन महासचिवले नेपालको भ्रमण गरेको र पछिल्लोपटक सन् २००८ मा महासचिव वान की मुनपछि गुटेरेसको भ्रमण हुन लागेको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ ।

सन् १९४५ मा पोर्चुगलको लिस्वनमा जन्मिएका गुटेरेस भौतिक शास्त्र तथा इलेक्ट्रीकल इन्जिनियर विषय अध्ययन गरी केही वर्ष प्राध्यापन पेशामा संलग्न थिए । सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्रीको जिम्मेवारी संहालिसक्नुभएका ७४ वर्षीय महासचिव गुटेरेस एक अनुभवी राजनीतिज्ञ र कूटनीतिज्ञका रुपमा परिचित छन् । उनी सन् १९९९ देखि २००५ सम्म सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष समेत थिए ।

नेपालको औपचारिक भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । यसैगरी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरूसँग समेत उनले भेटघाट गर्ने कार्यक्रम छ ।

महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दबै सदनलाई यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । चारदिने भ्रमणका क्रममा महासचिव गुटेरेसले पाटन दरबार स्क्वाएर क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प (एबीसी) र लुम्बिनीको पनि भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया