श्रीमानको चिर्पट प्रहारबाट श्रीमतीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, १० कार्तिक

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले गएराति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो । श्रीमान–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए ।

हत्या गर्ने श्रीमानलाई गएराति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताएका छन् । बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यही पुगेर श्रीमान्ले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । मृत श्रीमतीको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पतालमा लगिएको थियो । शेर्पा दम्पतिका दुई छोरी छन् ।

प्रतिक्रिया