काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनामध्ये ४ नेपाली विद्यार्थीको शव नेपाल ल्याएको छ । पहिलो चरणमा चार जनाको शव आइतबार काठमाडौं ल्याइएको हो । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्रमन्त्री एनपी साउद पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् ।
पहिलो चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । केही शव आजै दिउँसो आइपुग्ने बताइएको छ । अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने दूतावासले जनाएको छ ।
कृषि विषय अध्ययन गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । युद्ध तत्काल रोकिने स्थिति नदेखिएपछि सरकारले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ ।
नेपाल फर्किन चाहनेहरुका लागि इजरायलको तेलअविवस्थित नेपाली दूतावासले अनलाइन रजिष्ट्रेसन गर्दै आएको छ ।