सामाजिक सद्भाव र एकताको पक्षमा उभिन प्रधानमन्त्रीको अपिल
अखबार टुडे
प्रकाशित:
२०८०, ९ भाद्र

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गरेका छन् । केही दिनयता पूर्वी सहर धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री प्रचढडले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावको वातावरण बनाइराख्न आग्रह गरेका हुन् ।

यस्ता गतिविधिले सामाजिक एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले संवाद र सहाकार्यका माध्यमबाट समस्या समाधानका लागि पनि अपिल गरेका छन् ।

प्रधानमन्त्रीद्वारा शनिबार साँझ जारी अपिलमा भनेका छन्, ‘एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेरमात्र सही अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु । धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्था, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

विमतिलाई संवादको माध्यमबाट समाधानमा पुर्याउन राजनीतिक शक्ति, विभिन्न सामाजिक संस्था, धार्मिक समुदाय र त्यसका अगुवा एवं नागरिक समाजको भूमिका महत्त्वपूर्ण रहनेमा प्रधानमन्त्री प्रचण्डले जोड दिएका छन् ।

धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिनेबारे पनि उनले नागरिकलाई स्मरण गराएका छन् । सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट हरसम्भव पहल गर्नका लागि धरानवासीलाई पनि प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

‘नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ’, प्रधानमन्त्रीले जारी गरेको अपिलमा भनिएको छ ।

उनले जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिस भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न नसक्ने बताएका छन् । उनले हामीबीचको एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहेको बताएका छन् ।

प्रधानमन्त्रीको अपिलको पूर्णपाठ

हार्दिक अपील

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक हो । विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ । विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढिरहेको छ ।

नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ । यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन । तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ ।

केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ । हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु ।

धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ । एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु । विभिन्न वर्ण, लिङ्ग, जातजाति र धर्मको पहिचान भए पनि समग्रमा हामी नेपाली हौँ । नेपालको राष्ट्रिय हित र स्वार्थ नै हामी सबैका लागि सर्वोपरि रहन्छ र रहनुपर्दछ ।

सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । बिमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पु¥याउन समेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महत्वपूर्ण रहन्छ । कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सुत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौँ । अन्त्यमा, सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु ।

भाद्र ९, २०८०

पुष्पकमल दाहाल “प्रचण्ड”

प्रतिक्रिया