काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले देशको वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको जनाएको छ । शुक्रबार राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाह भने नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ । यस्तै, शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको तथ्यांकमा देखिन्छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।
यस्तै, विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ भने विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । रिपोर्टका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ ।
असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ४७ खर्ब ९७ अर्ब पुगेको रिपोर्टमा उल्लेख छ । १२ महिनाको तथ्यांकअनुसार सरकार महँगी नियन्त्रणमा असफल देखिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार वैदेशिक सम्पत्ति र दायित्व घाटामा रहेको छ ।
गत आर्थिक वर्ष मुलुकले ८ प्रतिशत नजिकको महँगीको सामना गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेका गत आर्थिक वर्ष २०७९÷८० को तथ्यांक अनुसार वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो । महँगी ७ प्रतिशतमा सिमित राख्नेगरी बजेटले लिएको लक्ष्य असफल भएको हो ।
यस्तै, आर्थिक वर्ष २०७९÷८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ ।
यस्तै, २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर २०८० असार मसान्तसम्म आइपुग्दा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिती २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।
यस्तै, २०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब ५० करोड तथा दायित्व १७ खर्ब २९ अर्ब ३९ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोडले घाटामा रहेको छ ।
यस्तै, २०८० असार मसान्तसम्म केन्द्रीय बैंकमा रहेका सरकारका विभिन्न खातामा ७१ अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आवको वित्तियविवरणमा देखिन्छ ।