गृहमन्त्रीलाई ओलीको प्रश्न- सय किलो सुन प्रकरणमा आफ्नो संलग्नता छ कि छैन ? बताउनुपर्‍यो
अखबार टुडे
प्रकाशित:
२०८०, ९ श्रावण

काठमाडौं, ९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो संलग्नाबारे प्रष्ट पार्न भनेका छन् ।

कम्बोडिया भ्रमणबाट गएराति स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै यसमा गृहमन्त्रीको संलग्नता छ वा छैन गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘गृहमन्त्रीले बताउनुपर्‍यो उहाँको संलग्नता छ छैन यसमा ? सानोतिनो संलग्नताबाट त भएको छैन होला ? उहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ? ।’

गत मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको करिब एक क्विन्टल सुन बुधबार भन्सार जाँच पास भएर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

त्यसको पर्सिपल्ट अर्थात् गत शुक्रबार उपप्रधानमन्त्री श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको अनुगमन गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नमा जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र कुनै टारको वा कुनै कोटको भए पनि नछाड्ने प्रतिक्रिया दिएका थिए ।

ओलीले गृहमन्त्री श्रेष्ठको यही अभिव्यक्तिलाई ‘अनैतिक’ र ‘गैरजिम्मेवार’ भनेका छन् । ओलीले भने, ‘क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री चाहिँ काँक्राको बियाँ अर्काको गालामा लगेर टाँस्छ मुखैको छेउँमा । यो अत्यन्तै अनैतिक कृयाकलाप हो । गृहमन्त्रीको कृयाकलाप गैरजिम्मेवार । आफू गृहमन्त्री भएर यसको भए पनि उसको भए पनि त्यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ?’ । उनले जथाभावी नबोल्न गृहमन्त्री श्रेष्ठलाई सचेत समेत गराए ।

प्रतिक्रिया