विराटनगर, ३० असार । नेपाली कांग्रेस महामन्त्री गगन थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका छन् । शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो दावी गरेका हु्न् ।
महामन्त्री थापाले भने, ‘संसदीय दलको नेताका लागि मैले भिडेकै हो । पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास छ । मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु ।’ हाल सभापति शेरबहादु देउवा दलको नेता रहेका छन् ।
उनले तनहुँमा उपनिर्वाचन हारेको र मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले कांग्रेसमा ८७ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । बहुमतले दलको नेता हटाउन सकिने व्यवस्था छ ।
नेता शेखर कोइरालाका पक्षमा कम्तीमा ३१ सांसद छन् । संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा थापालाई संस्थापन इतरपक्षको मत पुगेको थिएन ।
साउन २ गतेबाट सुरु हुने केन्द्रीय कार्यसमितिको बैठक विधानअनुसार नियमित हुने उनले बताए । थापाले भने, ‘बैठकले पार्टीको नीति महाअधिवेशनको मिति तय गर्छ र त्यसपछि व्यापक छलफल गरेर पार्टी अघि बढ्छ ।’
उनले नीति महाधिवेशनले पार्टीले गरेको निर्णयहरूको समीक्षा र भावी कार्यदिशा तय गर्ने बताए । पार्टीले चुनाव अगाडि गरेको गठबन्धनले देशको राजनीति गिजोलिएको र पार्टीहरू स्वतन्त्र रूपमा सोच्न पनि नसक्ने अवस्थामा पुगेको उनको भनाइ थियो ।