एसीसी इमर्जिङ कप : नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित
अखबार टुडे
प्रकाशित:
२०८०, २९ असार

काठमाडौं, २९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ’ए’ सँग ४ विकेटले पराजित भएको छ । श्रीलङ्कामा जारी प्रतियोगितामा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ‘ए’ ले ३२ ओभर पाँच बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तान ’ए’ का लागि तैयव ताहिरले ५१ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनायो । नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए ।

नवौँ विकेटका लागि सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रन बनाए । अर्जुन साउद र कुशल मल्लले समान १७÷१७ रन बनाए । गुलसन झाले १३ र ओपनर आसिफ शेख १२ रन बनाए । पाकिस्तान ’ए’ का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

जितसँगै पाकिस्तान ‘ए’ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । नेपालले दोस्रो खेलमा सोमवार भारत ‘ए’ सँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधवार यूएई ‘ए’ सँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिनेछन् ।

प्रतिक्रिया