अबदेखि बैंकहरुले आफ्नै तरिकाले ब्याजदर तोक्ने
अखबार टुडे
प्रकाशित:
२०८०, २८ असार

काठमाडौं, २८ असार । नेपाल बैंकर्स एसोसिएसनले अबदेखि बैंकहरूले आ–आफ्नै आवश्यकता अनुसार ब्याजदर तोक्ने समहति गरेका छन्। बिहीबार बिहान बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो। बैंकिङ प्रणालीमा ४ खर्बभन्दा धेरै कर्जा लगानी योग्य पुँजी थुप्रिएपछि धेरै बैंकहरूले साउनमा निक्षेपको ब्याजदर घटाउने तयारी गरिरहेका छन्।

‘अहिले तरलता सहज अवस्था पनि छ, बैंकहरू आफैँले ब्याजदरको निर्णय गर्दा अस्वस्थ प्रतिस्पर्धा भएर निक्षेप सन्तुलनमा समस्या पर्ने देखिदैन’ संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘ब्जारले पनि यही चाहीरहेको थियो ।’ बैंकर्स संघले केही वर्षदेखि आपसी सहमतिमा ब्याजदर निर्धारण गर्दै आइरहेका थिए।

बैंकर्सहरूले ब्याजदर निर्धारण गर्दा अहिले पनि राष्ट्र बैंकले दिएको सीमा भने परिपालना गर्नुपर्ने अवस्था छ। बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा अघिल्लो महिनाको सबै निक्षेपको औसत ब्याजदरमा १० प्रतिशत बिन्दुले मात्रै घटबढ गर्न सक्ने व्यवस्था छ।

असारमा बैंकहरूले निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका थिएनन्। साउनमा निक्षेपको ब्याजदर अधिकतम ८.९९ प्रतिशतसम्म हुन सक्ने देखिएको छ। असारको लागि वाणिज्य बैंकहरूले साधारण निक्षेपमा ५.४ देखि ७।४ प्रतिशतसम्म र मुद्दतीमा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।

प्रतिक्रिया