कुवेत जान लागेका ११७ श्रमिकलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो
अखबार टुडे
प्रकाशित:
२०८०, २८ असार

काठमाडौं, २८ असार । रोजगारीका लागि कुवेत जान लागेका ११७ जाना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । सलाम एयर र कुवेत एयरबाट कुवेत जान लागेका ११७ नेपाली श्रमिकलाई अध्यागमन कार्यालयले फर्काएको हो ।

तीमध्ये अध्यागमन कार्यालयले गएराति पौने ११ बजे सलाम एयरबाट कुवेत जान लागेका १०१ जना नेपाली श्रमिकलाई फर्काएको हो भने आज बिहान ६ बजे कुवेत एयरबाट जान लागेका १६ जनालाई पनि फर्किनुपरेको छ ।

उनीहरूले पेश गरेको कागजात शंकास्पद लागेर फर्काइएको अध्यागमनका अधिकारीले बताएका छन् । अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालले उनीहरूले पेश गरेको कागजातबारे थप बुझ्नुपर्ने भएकोले रोकिएको बताए ।

फर्काइएकाहरूमा निलकमल मेनपावरबाट २३ जना, इन्डेक्स मेनपावरबाट ४७ जना र युथ मेनपावरबाट ३२ जना लगायत अन्य मेनपावरबाट प्रक्रिया पूरा गरेका ११७ जना श्रमिक छन् । मेनपावर व्यवसायीले भने सबै प्रक्रिया पूरा गरेपनि श्रमिकलाई कर्मचारीले दुःख दिने नियतले गन्तव्य मुलुक जान नदिएको बताएका छन् ।

४ दिनअघि पनि जोर्डन जान लागेका १५ जना श्रमिकलाई अध्यागमनले कागजात शंकास्पद रहेको भन्दै रोकेको थियो । तर, पछि श्रमिकले पेश गरेका कागजातमा कुनै कमजोरी नभएपछि जान दिइयो ।

प्रतिक्रिया