सीताको राजकीय सम्मानका साथ अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती
अखबार टुडे
प्रकाशित:
२०८०, २७ असार

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेकपा माओवादी केन्द्रका सल्लाहकारसमेत रहेका दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।

पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डले दागबत्ती दिँदा छोरी रेणु र गंगा साथमा थिए । उनको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओडाएर सम्मान प्रकट गरे । त्यस लगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ ।

आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको बुधबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । हिन्दु परम्परा अनुसार दाहालको अन्त्येष्टि गरिएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले जेठी छोरी ज्ञानु दाहाल र छोरा प्रकाश दाहालको शोक सहनुपरेको थियो ।

प्रतिक्रिया