इस्ट जोन कपको उपाधि नेपाललाई, मलेसिया २ सय २१ रनले पराजित
अखबार टुडे
प्रकाशित:
२०८०, १९ असार

काठमाडौं, १९ असार । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपालले सो उपाधी जितेको हो ।

नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बल ३१ रनमा अलआउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि अभिषेक तिवारीले ५, सन्तोष यादवले ३ तथा सागर गैरेले १ विकेट लिए ।

त्यसअघि बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । नेपालका नरेन भट्टले ८९ बलमा अविजित १ सय १२ रन बनाए । त्यस्तै, निरज यादवले ४७ रन जोडे । मलेसियाका मोहम्मद अक्रमले ३ विकेट लिए ।

समूह चरणमा नेपाल थाइल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई ९७ रनले हराउँदै फाइनल पुगेको थियो । योसँगै नेपाल तेस्रो पटक इस्ट जोन कपको उपाधि जित्न सफल भएको छ । यसअघि नेपालले सन् २०१७ र २०१९ मा यो उपाधि जितेको थियो ।

प्रतिक्रिया