काठमाडौं, १८ असार । कर्मचारी कुटिएको विषयले अदालतका कर्मचारी र नेपाल बार एसोसियसनका कानुन व्यवसायीबीच द्वन्द्व बढ्दै गएको छ । ललितपुर जिल्ला अदालतका महिला कर्मचारीमाथि कुटपिटको विषयलाई लिएर देशभरका अदालतका कर्मचारीहरु आन्दोलित बनेपछि कानुन व्यवसायीहरु पनि प्रतिवादमा उत्रिएका हुन् ।
ललितपुर जिल्ला अदालतका नासु प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । तर पक्राउ परेका लामिछानेलाई अदालतमा कार्यरत कर्मचारीहरुको माग अनुसार अवहेलना मुद्दा चलाउने तयारी गरिएपछि सोको विरोधमा उत्रिएका हुन् ।
बार एसोसियसनका वकिलहरुले ललितपुर जिल्ला अदालत परिसरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले देशभरका अदालतका बहस बहिस्कार गरेका छन् । साथै अदालतमा जडित सीसी क्यामेरको माध्यमबाट सत्य तथ्य अन्वेषण गरी दोषीउपर कारबाही प्रक्रिया अगाडि बढाउनु पर्नेमा सीसीटीभी फुटेज नहेरी विवादलाई आफ्नो पक्षमा पार्न कर्मचारी उद्वेलित भएको आरोप बारले लगाएको छ ।
यो प्रकरणमा अदालतका कर्मचारीहरुले आइतबार १० बजे देखि १ः३० बजेसम्म अदालत ठप्प पारेका थिए । आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । यो विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार नै साधारण तारेखमा रिहा गरेको थियो ।
तर पनि कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् । कानुन व्यवसायी माथि झुट्टा मुद्दा लगाइएको र अदालतमा विकृति, विसंगति भएको भन्दै त्यसविरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको बताएका छन् ।
असार १३ गते (बुधबार) ललितपुर जिल्ला अदालतमा अदालती काम कारबाहीको सन्दर्भमा सेवा लिने÷दिने क्रममा उच्च अदालत बार एसोसिएसन पाटनका सदस्य अधिवक्ता अमिर लामिछाने र ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्वा प्रेमिका तामाङबीच विवाद भएको थियो।
अदालतको फाँटमा रहेको फाइल हेर्न नमिल्ने भन्दै प्रतिवाद गर्न खोज्दा आफूमाथि लामिछानेले आक्रमण गरेको भन्दै तामाङले प्रहरीमा जाहेरी दिएकी थिइन्।बारले भने ती कर्मचारीले घुस माग्दा अधिवक्ता लामिछानेले घुस दिन अस्वीकार गरेपछि विवाद सुरु भएको समेत बारको दाबी छ ।