काठमाडौं, १५ असार । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा.खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार खड्कालाई १ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ । त्यसैगरी, १८ करोड रुपैयाँभन्दा बढी विगो र जरिवाना भराउने आदेश पनि दिइएको छ ।
यसैगरी आरोपपत्रमा जफतको दाबी लिइएको खड्काको घरजग्गा, सेयर नगद बैंक मौज्दात सबै जफत गर्ने आदेश दिइएको बताइएको छ । उता शर्मिला खड्का र अमिता सोदेम्बाको नाममा रहेका ३ कित्ता घरजग्गा बिगो दाबीसम्म जफत गर्न भनिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारका अनुसार खड्काले गैरकानुनी रुपमा कमाएको रकम श्रीमती शर्मिला खड्का, अमिता लामा सोदेम्बाका नाममा लुकाएर राखेको पनि पाइएको थियो ।