
काठमाडौं, १२ असार । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रहरिले पक्राउ गरेको छ । शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।
शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको बताइएको छ ।
योसँगै यस प्रकरण पक्राउ पर्नेको संख्या ७ पुगेको छ । यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरिसकेको छ ।
