
काठमाडौं, ७ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलाई एक्लै हिँड्न बानी परेको टिप्पणी गरेका छन् ।
चार दलीय समाजवादी मोर्चामा बाबुराम छुटेकोबारे पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उनले बाबुराम एक्लै हिड्ने बानी परेको बताएका हुन् । उनले भने, ‘उहाँलाई एक्लै हिँड्न बानी परेको छ। छुटेर पनि ठिकै भयो ।’
उनले यो मोर्चा डेढ बर्षदेखि तयारी हुँदै गर्दा उनको संलग्नता कहिलेपनि नदेखेको बताए । उनले भने, ‘बाबुरामलाई हामीले समातेको पनि छैन, छाडेको पनि होइन । उहाँ मोर्चामा आएको कहिलेपनि देख्दिनँ। यो मोर्चा डेढ बर्षदेखि तयारी हुँदै आएको हो। उहाँको संलग्नता कहिलेपनि देखिन । न हामीले समातेको हो न छाडको हो। छुट्नुभयो भने उहाँलाई थाहा होला ।’
मोर्चामा भएका कुनै दल अर्को कुनै दलसँग एकता गर्न सक्ने भन्दै उनले अघि भने, ‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आंकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरुको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयहरुमा सहकार्य हुन्छ ।’
