
काठमाडौं, ७ असार । पूर्वी नेपालमा यही असार १ र २ गते आएको बाढीका कारण क्षतिपुग्ने जलविद्युत् आयोजनाको संख्या २३ पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार प्रभावित आयोजनाका प्रवर्धकहरूसँग क्षति र अबको योजनाबारे छलफलका क्रममा २३ आयोजनामा क्षति पुगेको निचोड निकालेको हो ।
छलफलमा सहभागी प्रभावित आयोजनाका प्रवर्धकहरूले बाढीका कारण ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेका आयोजनासमेत बगेकाले प्रवर्धकहरूले ठुलो क्षति भोगेको भन्दै त्यसको निकासका लागि प्रधानमन्त्रीसहित सरोकारवाला निकायसँग छलफल गर्ने निश्चित गरेका छन् ।
छलफलमा प्रवर्धकहरूले क्षतिपूर्तिभन्दा पनि अब यस्तो अवस्थालाई सम्बोधन गर्ने गरी नीतिगत व्यवस्थापन नै गर्नुपर्ने औँल्याएका थिए । आयोजना पुनर्निर्माणका लागि पुनः एक वर्ष थप गर्नुपर्ने देखिएको उनीहरूले बताएका छन् ।
इप्पानको सल्लाहकारसमेत रहेका पाँचथर पावरका प्रतिनिधि पुष्पज्योति ढुङ्गानाले सरकारसँग क्षतिपूर्ति माग्नुभन्दा पनि दीर्घकालीन समाधान हुने गरी नीतिगत सहयोग माग गर्नुपर्ने धारणा राखे । त्यस्तै अप्पर हेवा खोलाका प्रतिनिधि केशवबहादुर रायमाझीले जलविद्युत् आयोजनाको बिमाको विषय पेचिलो बनेको औँल्याए ।
इप्पानका उपाध्यक्ष भरतबहादुर खत्रीले ऋण लगानी गर्दा कुनै एउटा संस्थाको नेतृत्वमा आठ÷दस वटा बैंकसँग सम्झौता गरे जस्तै बिमा गर्दा पनि एउटा कम्पनीको नेतृत्वमा धेरै कम्पनीसँग बिमा सम्झौता गर्ने व्यवस्था गर्न आवश्यक रहेको औँल्याए ।
इप्पान कार्यसमितिका तर्फबाट बाढीको प्रभावबारे अध्ययनको संयोजन गरिरहेका इप्पान कार्यसमिति सदस्य कुवेरमणि नेपालले बाढीले पु–याएको क्षति हेर्दा यस पटकको क्षति नेपालको जलविद्युत् इतिहासकै सबैभन्दा ठुलो क्षति भएकाले आगामी दिनमा जलविद्युत् आयोजनाको सुरक्षा कसरी गर्ने भन्ने विषयमा पनि सोच्नुपर्ने औँल्याए ।
१८ जना कामदार बेपत्ता भएका सुपर हेवा जलविद्युत् आयोजनाका प्रवर्धक हर्कबहादुर तामाङले ९५ प्रतिशत पूरा भएको आयोजनामा सबैभन्दा ठुलो क्षति भएको भन्दै पूर्वाधारभन्दा पनि मानवीय क्षति भएकामा बढी दुःख लागेको बताउनुभयो । बाढीले दर्जनौँ विद्युत् आयोजनामा क्षति, चार श्रमिकको मृत्यु, १८ जना बेपत्ता छन् ।
