कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको चार घण्टा लामो वार्ता निष्कर्षविहीन
अखबार टुडे
प्रकाशित:
२०८०, ४ असार

बिराटनगर, ४ असार । कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पहिचान पक्षधरबीच भएको पहिलो वार्ता निष्कर्षविहीन बनेको छ । प्रदेशको राजधानी विराटनगरस्थित एक होटलमा भएको वार्ता करिब ५ घण्टा चले पनि निष्कर्षमा पुग्न नसकेको हो ।

प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहेका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले सहमति बन्न नसक्दा पुनः वार्तामा बस्नेगरी आजको वार्ता सकिएको बताए । वार्ता सकारात्मक रूपले अघि बढेकाले चाँडै अर्को चरणको वार्ता हुने उनको भनाइ छ । आन्दोलनरत पक्षका एजेन्डाहरू वार्ताको विषयमा प्रवेश भएको र आगामी छलफलबाट सहमति खोज्ने प्रयास गरिने उनले बताए ।

वार्तामा पहिचान पक्षधरबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगुलगायतको सहभागिता थियो ।

त्यस्तै, सरकारी पक्षबाट मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधार मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी थिए । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राख्ने निर्णय गरेपछि पहिचान पक्षधरले आन्दोलन गर्दैआएका छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया