तारबार र फिनिसिङ काटी लैजाने कार्यमा मेयर शाहको प्रत्यक्ष संलग्नता देखिएको भन्दै प्राधिकरणले सोध्यो लिखित स्पष्टीकरण
अखबार टुडे
प्रकाशित:
२०८०, १ असार

काठमाडौं, १ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ । आफ्नो स्वामित्वमा रहेको विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार महानगरले भत्काएपछि शुक्रबार प्राधिकरणले प्रमुख शाहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो ।

प्राधिकरणले तारवार फेन्सीङ्ग काटी लैजाने कार्यमा शाहको प्रत्यक्ष संलग्नता देखिएको भन्दै म्याद भित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

स्पष्टीकरणमा भनिएको छ, ‘काठमाण्डौ महानगरपालिका वडा नं. ९ स्थित नक्सा सिट न. १०२–११४७–१५, कि.नं. ३० को जग्गा यस प्राधिकरणले तारबार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो,उक्त क्षेत्रमा नगर प्रहरी राजु पाण्डे समेतले प्राधिकरणलाई सूचना नदिई फिनिसिङ तारबार काट्न लाग्दा नगर प्रमुखको आदेश बमोजिम यस्तो कार्य गरेको र उतै सोध्नु भनी जवाफ दिएकाले सो तारबार र फिनिसिङ काटी लैजाने कार्यमा तपाईँको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न हुन प्राधिकरको मिति २०८०/२/३२ को निर्णय अनुसार जानकारी गराइन्छ । म्याद भित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम भै जाने व्यहोरा समेत यसै पत्रबाट सुचित गरिन्छ ।’

प्राधिकरणले शाहलाई सोधेको स्पष्टीकरणको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई दिएको छ ।

प्रतिक्रिया