काठमाडौं, २० जेठ । भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ३७ जनाको मृत्यु भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी ९ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनलाई उदृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् ।
समााचारमा जनाइएअनुसार घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् । उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।
भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । त्यस्तै, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एकदिने राज्य शोकको घोषणा गरेका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।