आममाफी, नागरिकता विधेयक लगायतका विषयमा देउवाले एक्लै निर्णय गरेको भन्दै सङ्घर्ष गर्ने गगनको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०८०, १९ जेष्ठ

काठमाडौं, १९ जेठ । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिएका छन् ।

पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै महामन्त्री थापाले सङ्घर्ष गर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘केही दिन बीचमा नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्त्वपूर्ण दीर्घकालीन महत्त्वको र जनचासोको निर्णयहरू ग¥यो । यी सबै विषयहरूका सन्दर्भमा नेपाली कांग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णयहरू हो । आजको दिनसम्म मैले यसलाई सहँदै आएँ । अब म सहन्नँ, मैले आफूलाई बदल्ने हो । ती निर्णयहरूको भारी प्रकारान्तरले पार्टीका तमाम सदस्यहरूले बोक्नुपर्ने स्थिति बनेको छ । यो गर्ने क्रमलाई रोक्ने हो ।’

प्रेस युनियन नेपालले शुक्रवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरू आफूलाई सह्य नहुने बताए ।

महामन्त्री थापाले रेशम चौधरीको आममाफी, नागरिकता विधेयक, विकास कोषलगायतका विषयमा पार्टी सभापति एक्लैले निर्णय गरेको भन्दै यस्ता गलत निर्णयको सङ्घर्ष गरेर पनि रोक्नुपर्ने र साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वानसमेत गरे ।

प्रतिक्रिया