
काठमाडौं, १९ जेठ । मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने चेतावनी जारी गरेको छ । केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको भन्दै तराईका भू–भागमा आउँदो पाँच दिन ‘लु’ लाग्न सक्ने चेतावनी महाशाखाले दिएको हो ।
महाशाखाले भनेको छ, ‘आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ । तसर्थ, देशका तराई भू–भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
तातो हावा तथा ’लु’ का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ ।
‘लु’ तथा गर्मीको समस्याबाट बच्न यो समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्न, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्बतलगायतका झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।
काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ भने सीमरा, जनकपुरलगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको महाशाखाले जनाएको छ ।
