काठमाडौं, १९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको छ । लामो समय राष्ट्रपति कार्यालयमा अड्किएको नगरिकता विधेयक सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार प्रमाणित गरेका थिए ।
राजपत्रमा प्रकाशित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ ।
यस्तै २०७२ असोज ३ भन्दा अघि जन्मेका आधारमा नेपाली नागरिकता लिएका बाबुआमाका सन्तानले १६ वर्ष उमेर पूरा भएपछि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था नयाँ ऐनमा छ ।
त्यस्तै नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेका तर बाबुको पहिचान हुन नसकेका व्यक्तिले पनि वंशजका आधारमा नागरिकता पाउनेछन् ।
यसैगरी विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले पनि नेपाली नागरिकता लिने बेला निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नेपालको नागरिकता पाउनेछ ।
नयाँ ऐनमा दक्षिण एशियाली राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।
पूर्णपाठ :