
काठमाडौं, १७ जेठ । नेपाली कांग्रेस कोशी प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै १४ वटै जिल्लाका सभापतिहरूले कोशी नाम पुनर्विचार गर्न माग गरेका हुन ।
प्रदेशको नाम कोशी राखिएको प्रति प्रदेशका जनताले असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको र पहिचानवादी आन्दोलनकारी जनाताले कोशी नाम हटाउन माग गरेको प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली कांग्रेसले मात्रै संघीयताको मर्म र भावनालाई आतमसाथ गर्दै गल्ती कमी कमजोरी सच्याउन साहस गर्नसक्ने भएकाले कोशी नाममा पुनर्विचार गर्न पार्टी नेतृत्व र प्रदेशसभालाई विशेष आग्रह गर्दछौं ’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसका सभापतिहरूले बिरोधका कार्यक्रमहरू संयमित रुपमा शान्तिपूर्ण तरिकाले आयोजना गर्न पनि पहिचान पक्षधर आन्दोलनकारीहरूलाई आग्रह गरेको छ ।
