राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
अखबार टुडे
प्रकाशित:
२०८०, १७ जेष्ठ

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेको नागरिकता विधेयक सरकारको आग्रहमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद् (राष्ट्रिय र प्रतिनिधि सभा) बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेका थिए । त्यही विधेयक अहिले प्रमाणीकरण भएको हो ।

यसअघि संघीय संसदले २०७९ साउनमा नागरिकता विधेयक पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाएको थियो । तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिका थिए । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै फेरि दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

संविधानअनुसार राष्ट्रपति भण्डारीले विधेयक १५ दिन अर्थात असोज ५ गतेभित्र प्रमाणीकरण गर्नुपर्ने भए पनि प्रमाणीकरण भएको थिएन । राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयक गएको १२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन् ।

विधेयकमा २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ । कानुन नहुँदा यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा धेरैले नागरिकता लिनबाट वञ्चित भएकोतथ्याङ्क छ ।

यस्तै नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको नाबालकलाई निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने प्रावधान पनि छ ।

यस्तै विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेलगायतका प्रावधान विधेयकमा राखिएको छ ।

प्रतिक्रिया