
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल भारत जाने तय भएको हो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग छलफल हुने जानकारी दिए । साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायतका कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको जानकारी दिए ।
नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गबारे पनि छलफल हुने परराष्ट्रमन्त्री साउदले बताए । उनले कार्यान्वयन गर्न सकिने सम्झौताका विषयमा छलफल र हस्ताक्षर हुने प्रस्ट पारेका छन् ।
हवाई ट्रान्जिट र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सवालमा उठेका विषयप्रति दुई देशका सरकार प्रमुखले छलफल गरेर टुङ्गो लगाउने नेपालको तयारी रहेको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँग रहेका केही असमझदारीलाई यो भ्रमणले हटाउने सम्भावना प्रवल रहेको मन्त्री साउदले बताए ।
प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भारत प्रस्थान गर्नुपूर्व प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै छन् ।
सम्भावित विकास साझेदारीका सम्झौता र प्रस्तावित विषयमा कुरा गर्न सरकारी उच्चाधिकारीको टोली प्रधानमन्त्रीसँग रहने छ। त्यसबाहेक नेपाली उद्योगी व्यवसायीको ठुलो समूह पनि प्रधानमन्त्रीसँगै भारत जाने तयारीमा रहेको छ। उद्योगी व्यवसायीसँगै एक दजर्नभन्दा बढी सम्पादक÷पत्रकारको समूह पनि भारत जाने तयारी छ।
भ्रमणको दोस्रो दिन बिहीबार जेठ १८ गते प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबिच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोही अवसरमा दुई देशबिच हुने सहमति र सम्झौता तथा आगामी दिनमा हुने सहकार्यका दस्ताबेजमा दुई देशका सरोकारवाला उच्चाधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्ने छन् ।
त्यस्तै प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने छ । त्यस्तै भारतस्थित नेपाली समुदायसँग पनि छुट्टै छलफल गर्ने कार्यतालिका छ । स्वदेश फर्कने दिन प्रचण्डले भारतका केही पर्यटकीय स्थलको अवलोकन भ्रमण गर्नेख छन्ख । जेठ २० गते साँझ प्रधानमन्त्री दाहाल स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भ्रमण हो। यसअघि २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो औपचारिक भारत भ्रमण गरेका थिए । दोस्रो पटक २०७३ सालमा प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएका थिए । त्यसको एक महिनापछि ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत गएका थिए ।
