काठमाडौं, ७ जेठ । म्यान्चेस्टर सिटीले लगातार तेस्रो पटक इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनललाई नटिङ्घम फरेष्टले १–० ले हराएसँगै म्यान्चेस्टर सिटी तीन खेलअघि नै च्याम्पियन बनेको हो ।
लिगमा आर्सनलले अब एक खेल खेल्न बाँकी छ भने सिटीले ३ खेल खेल्न बाँकी छ । ३५ खेलबाट म्यान्चेस्टर सिटीको ८५ अंक छ भने ३७ खेल खेलेको आर्सनलको ८१ अंक छ । ३६ खेलबाट समान ६९ अंक जोडेका न्युकासल युनाइटेड र म्यान्चेस्टर युनाइटेड तेस्रो र चौथो स्थानमा रहेका छन् ।
६६ अंक जोड्दै पाँचौ स्थानमा रहेको लिभरपुल पनि शिर्ष चारमा पर्दै अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा रहेको छ । प्रशिक्षक पेप ग्वार्डीयोलाको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरिरहेको म्यान्चेस्टर सिटीका लागि यो उपाधि पछिल्लो ६ वर्षमा पाँचौ लिग उपाधि हो । प्रिमियर लिगसँगै सिटी यस वर्षको च्याम्पियन्स लिग र एफ.ए कप फुटबलको पनि फाइनलमा पुगेको छ ।
सिटीले ३ जुनमा एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ। १० जुनमा युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ। दुवै फाइनल जिते सिटीले ट्रेबल गर्नेछ ।